नेपाली चलचित्रका महानायक काे ?


नेपाली सिने जगतमा महानायककाे विवाद बेलाबेलामा उठ्ने गरेकाे छ ।  जसले जुन नियतले महानायककाे विवाद उठाएकाे भए तापनि विवाद उठाउनेमा डाह तथा छठपटी भएकाे प्रष्ट देखिन्छ । केही महिना अगि कलाकार दीपाश्री निराैलाले महानायक विवादकाे शुभारम्भ गरिन् ।  दीपाश्री निराैला उनकाे अभिव्यक्ति पछि निकै विवादित  भइन्। यतिसम्म भयाे कि पछि उनले रूँदै माफी माँग्नु पर्याे  र राजेश हमाललाइ नै महानायककाे रूपमा स्वीकार गर्नु पर्याे । अहिले पनि कहिलेकाहीँ उनकाे याे विवादित भिडियाेले सामाजिक सञ्जाललाई तताउने गर्छ ।  

महानायक सम्बन्धि विवादकाे बाछिटाले भिजाउने क्रम राेकिएकाे छैन । नायकद्वय भुवन केसी र शिव श्रेष्ठ पनि महानायक  अभिव्यक्तिकाे विवादमा नराम्राेसित तानिएका छन् । उनीहरूले दिएकाे वक्तव्य एक हदसम्म ठीकै हाेला । दुबै नायक नेपाली चलचित्र उद्याेगका बलिया हस्ती हुन् । नेपाली चलचित्र क्षेत्रले यी दुबै नायककाे याेगदानलाइ उच्च रूपमा लिएकाे छ । यति हुँदाहुँदै यी दुबै नायक यस विवादित भनाइपछि थप विवादमा परेका छन् ।  

नायकद्वय भुवन केसी र शिव श्रेष्ठले राजेश हमालकाे महानायक उपाधिप्रति डाह व्यक्त गरेकाे प्रष्ट देखिन्छ। भारतमा अमिताभ वच्चनलाई महानायकको उपाधी दिइएको छ । भुवन र शिव श्रेष्ठकाे ठाउँमा बसेर  हेर्दा उनलाई दिइएको याे उपाधी पनि अनुपयुक्त हुनुपर्ने हो । उनले खेलेका चलचित्रभन्दा तीन खानहरूले खेलेका चलचित्र तुलनात्मक रूपमा सफल छन् । यति हुँदाहुँदै पनि तीन खानले मात्र हैन सिंगाे बलिउडले  उनलाई महानायकको रूपमा स्वीकार गरेकाे छ। अमिताभप्रति सबै भारतीयकाे उच्च सम्मान पनि जाेडिएकाे छ ।  उनकाे जतिकाे याेगदान अन्य नायककाे पनि नभएकाे हैन । तर पनि उनी त्यहाँ  महानायकका  रूपमा सर्वमान्य छन् । उनकाे चलचित्र अत्याधिक सफल भएर उनले याे उपाधि पाएका हैनन् । उनकाे शालीन व्यक्तित्व तथा विवादरहित अभिव्यक्तिले पनि उनलाइ शिखरमा पुर्याएकाे हाे । 

नायकद्वय भुवन केसी र शिव श्रेष्ठको योगदानलाई कसैले पनि नकार्न खोजेको हैन । यस लेखले पनि यी मूर्धन्य कलाकारकाे अपमान गर्न खाेजेकाे हैन । चलचित्रकाे इतिहास साक्षी छ,  कुनै समय यस्तो थियो राजेश हमालको नामले चलचित्र चल्थ्यो । त्यो बेला भुवन केसी र शिव श्रेष्ठको चलचित्र कहाँ थियो त ? एक्लाे राजेश हमालले सकी नसकी नेपाली चलचित्र उद्याेगलाइ बाेकेर अगाडि बढाए । 

 दर्शककाे स्वाद सधैभरि एउटै हुँदैन ।  अहिले शिव श्रेष्ठ र भुवन केसीको चलचित्र हलमा लाग्यो भने केही दिनमै हलबाट उत्रन्छ ।हुनसक्छ राजेश हमालको चलचित्र पनि राम्रोसँग नचल्ला । एउटा व्यक्तिले सधैभरी समान ढंगले योगदान दिन सक्दैन। राजेश हमालले जुन लगनका साथ चलचित्र उद्योगलाई माथी उठाए, त्यतिकाे याेगदान कसैले पनि गरेनन् । उनले चलचित्र  उद्याेग थला  परेको बेला अतुलनीय याेगदान प्रदान गरेकाे कुरा सबैलाई थाहा छ। यति हुँदाहुँदै  महानायकको विषयमा अनावश्यक विवाद गर्न जरूरी नै छैन । नेपाली चलचित्रका महानायक राजेश हमाल नै हुन् । उनी संसारभरिका नेपालीका ढुकढुकी हुन् ।  उनीभन्दा सफल नायक नेपाली चलचित्रमा आउलान्, उनीभन्दा उत्कृष्ट अभिनय पनि कसैले गर्ला तर उनकाे स्थान अरू कसैले पनि लिन सक्दैन । 

नेपाली साहित्यमा  लक्ष्मीप्रसाद देवकोटाभन्दा धेरै कृति दिने साहित्यकार थुप्रै छन् । उनी सर्वाधिक कृति लेखेर महाकवि भएका हैनन् । उनकाे व्यक्तित्व र कृतित्वले उनलाइ महाकविकाे बनाएकाे हाे ।  उनकाे याे उपाधि कहिले पनि विवादमा परेन । महाकवि देवकोटा सर्वमान्य छन् ।

स्वरसम्राट नारायण गाेपालकाे पनि उदाहरण लिन सकिन्छ । उनकाे भन्दा संख्यात्मक रूपमा बढि गीत गाउने गायक धेरै हाेलान् । युट्युबमा उनकाे भन्दा धेरै हेरिएका र सुनिएका गीत पनि हाेलान् । त्यसाे भन्दैमा के उनलाइ हामी स्वर सम्राटकाे रूपमा अस्वीकार गरेर अरू कुनै गायकलाइ स्वर सम्राटका रूपमा स्वीकार  गर्छाै त ? पक्कै गर्दैनाैँ । युग युगान्तरसम्म उनी नै हरेक नेपालीका मनमा स्वर सम्राट बनेर रहनेछन् । 

भुवन केसी तथा शिव श्रेष्ठमध्ये कसैलाई महानायक बनाउने हो भने भाेलि दुर्गेश थापाले स्वर सम्राटकाे दावी प्रस्तुत  गरे भने के गर्ने? मान्ने कि नमान्ने? अनि महाकविकाे पनि विकल्प खाेज्ने कि नखाेज्ने ? यसपछिकाे अवस्था के हाेला ? त्यसैले इतिहास तथा सम्बन्धित व्यक्तिकाे याेगदानकाे कदर सबैले गर्नैपर्छ ।  सूर्यकाे विकल्प चन्द्रमाँ  हुनै सक्दैन । पानीकाे विकल्पमा अर्काे केही छैन ।  त्यसैले  महानायककाे विकल्पमा राजेश हमालबाहेक अर्काे हुनै सक्दैन । 

Comments

  1. मलाई "नायक" भन्ने शब्द कहिले मन परेन । फिल्ममा लिड रोल गर्दैमा वास्तविक जीवनमा नायक भन्ने होला र? अझ कथामा चरित्र प्रधान अवधारणा आइरहेको बेला महानायकको बहस सान्दर्भिक लाग्दैन ।
    तर नेपाली फिल्ममा गरेको योगदान हेर्नुहो भने राजेश हमाल निर्विवाद महानायक हुनुपर्छ

    ReplyDelete

Post a Comment

Popular posts from this blog

कक्षा ११ नेपाली ( गाउँकाे माया)